सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन
शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिए पनि अन्त्यमा निष्कर्षविहीन भएको हो।
डा. केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले सरकारी पक्षका कारण वार्ता निष्कर्षविहीन भएको बताए। शुक्रबार राति करिब ११ बजे त्रिवि शिक्षण अस्तपाल परिसरमा पत्रकार सम्मेलन गरेर डा. केसी पक्षले यस्तो आरोप लगाएको हो।
सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको क्षेत्रीले बताए। ‘डा. केसी मरे मरोस् भन्ने सरकारको नियत देखिएको छ,’ क्षेत्रीले पत्रकार सम्मेलनमा भने।
उनले केसी पक्षले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा आन्दोलन चर्काउनेसमेत चेतावनी दिए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीप्रति दुराशय राखेको आरोप लगाउँदै क्षेत्रीले पोखरेल आफ्नै वार्ता टोलीसँग मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको बताए। मन्त्री पोखरेलले डा. केसीबारे दुष्प्रचार गरेको आरोप लगाउँदै क्षेत्रीले सरकार नै केसीको जीवनलाई खतरामा पार्न खोजेको बताए।
बिहीबार पनि सरकार र डा. केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।
सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपिनाथ मैनालीले गरेका थिए। डा. केसी अनसन बसेको २६ दिन पुगेको छ। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
असोज २३, २०७७ शुक्रबार २३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।