२६४ स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति (विवरणसहित)
मन्त्रालयले चालु आर्थिक वर्षमा देशभरका २ सय ६४ वटा पालिकामा रहेका स्वास्थ्य चौकीलाई ५/१०/१५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया थालेको हो।
मन्त्रालयले यस वर्ष ५० वटा पालिकामा रहेका स्वास्थ्य चौकीहरुलाई ५ शैय्या, १ सय १ पालिकामा रहेका स्वास्थ्य चौकीलाई १० शैय्या तथा १ सय १३ पालिकामा रहेका स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न लागेको छ।
गत साउन २८ गतेको स्वास्थ्य मन्त्रीस्तरको निर्णयले स्वास्थ्य सस्था स्तरोन्नतिका लागि पालिकाको छनौट गरेको थियो।
अस्पतालको भवन निर्माणका लागि चाहिने आवश्यक बजेट अर्थ मन्त्रालयबाट निकासासमेत भैसकेको मन्त्रालयका सुचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिए।
श्रीवास्तवका अनुसार ५ शैय्याको अस्पतालको लागि ७० लाख, १० सैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि १ करोडका दरले कुल २ अर्व ३६ करोड ३५ लाख रुपैयाँ निकासा भएको छ।
स्वास्थ्य सस्था स्तरोन्नति हुने सम्बन्धित पालिकालाई जानकारी दिन तथा आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ।
मन्त्रालयका सूचना अधिकारी श्रीवास्तवका अनुसार अस्पतालका लागि चाहिने भौतिक संरचना निर्माणको काम सम्बन्धित पालिकाले कार्तिकसम्म सुरु गरिसक्नु पर्ने छ।
मन्त्रालयले जारी गरेको आधारभूत अस्पताल भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ बमोजिम भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ बमोजिम भवन निर्माण गर्नुपर्ने जनाएको छ।
मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा २ सय ३६ पालिकामा तथा आर्थिक वर्ष ०७५/७६ मा २ सय ५१ पालिकामा रहेका स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति थालिएको थियो।
सरकारले आधारभुत स्वास्थ्य सेवा गाउँमै दिने उद्देश्यले ‘एक पालिका एक अस्पताल’को अवधारणा ल्याएको हो।
पालिकास्तरमा बन्ने अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने व्यवस्था मन्त्रालयले गरेकोो छ।
असोज २३, २०७७ शुक्रबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।