रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
भैरहवा : लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल, धागो कारखानामा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा पश्चिम नवलपरासी सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ की ५५ वर्षीया महिला छन्।
प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सुनवलका पुरुषको बुधबार बिहान १२ः५० बजे मृत्यु भएको हो। उनमा उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो।
स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ती पुरुषमा १६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई बुटवलमा रहेको कोरोना अस्पतालको आईसीयूमा भर्ना गरि उपचार भइरहेको थियो।
बुटवलकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको हो। उनमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या रहेको डा.गौतमले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १७ गते प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षण गरिएकामा ती महिलामा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई कोरोना अस्पताल भर्ना गरी उपचार जारी थियो। उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
असोज २१, २०७७ बुधबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।