सामुदायिक विद्यालयले थाले पठनपाठन  

सामुदायिक विद्यालयले थाले पठनपाठन  

जनकपुरधाम : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण बन्द भएका सामुदायिक विद्यालयले पठनपाठन सुरु गरेका छन्। 

जनकपुरधामका आधा दर्जन विद्यालयमध्ये केहीले अनलाइन कक्षा चलाएका छन् भने केहीले समुदायमै गएर पढाउन थालेका छन्। 
अनलाइनभन्दा समुदायको पढाइ बढी प्रभावकारी हुने गरेको शिक्षक–विद्यार्थी बताउँछन्। 

धनुषामा मात्र होइन, प्रदेश २ का अन्य जिल्लामा पनि समुदायमा पढाइ सुरु गरिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–८, स्थित याज्ञवल्क्य संस्कृत नमुना माध्यमिक विद्यालयका प्रअ संजयकुमार झा समुदायको पढाइमा शिक्षक–विद्यार्थी रमाइरहेको बताउँछन्। ‘अहिले त अभिभावक पनि कुन बेला शिक्षक पढाउन आउँछन् भन्दै प्रतीक्षा गरेको देखिएको छ,’ उनी भन्छन्।

जनकपुरधाम उपमहानगरपालिका–८ की  प्रिया झा हरेक दिन बिहान १० बजे घरअगाडि वरको रुखनजिक पढ्न जाने गरेकी छिन्। कक्षा ९ मा अध्ययनरत उनी बिहान १० बजे त्यहाँ पुगेकी थिइन्। उनीसँगै २–३ जना छात्रछात्रा पनि त्यहाँ पुगेका थिए। त्यसको १० मिनेटपछि शिक्षक पनि पुगे। र, पढाउन थाले। 

उनले करिब एक घण्टा पढाएपछि अर्काे विषयका शिक्षक आए। र, पढाउन थाले। विद्यालयले समुदायमै शिक्षक पठाएर करिब दुई सय विद्यार्थीलाई पढाउने गरेको प्रअ झाले बताए। 

शिक्षक दीपककुमार शर्मा विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पढाउने गरेको बताउँछन्। ‘विद्यार्थी जहाँ जुन अवस्थामा छन्। त्यही अवस्थाबाट सिकाइ गर्दैछौं,’ उनले भने।

कक्षा १० मा अध्ययनरत उमा दासले समुदायमै पढाइ सञ्चालन भएपछि आफू पनि पढ्न थालेको बताउँछिन्। 

उपमहानगरको वडा नम्बर ८ मै रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर १३ मा रहेको राजर्षि माध्यमिक विद्यालयले पनि समुदायमा गएर पढाइ थालेको छ। 

राजर्षिका शिक्षक नवीनकुमार मिश्रले समुदायमा गएर पढाइ हुन थालेपछि अभिभावक खुसी देखिएको बताए। 

शिक्षक नारायणप्रसाद अधिकारीले अनलाइन पढ्ने विद्यार्थीले मोबाइल र ल्यापटप प्रयोग गरिरहेको बताए। 

छात्रा सीमा कुमारीले अनलाइन कक्षाले विद्यार्थीलाई दैनिक केही घन्टा भए पनि व्यस्त बनाएको बताइन्। ‘शिक्षक र विद्यार्थीको संवादसँगै सिकाइ भएको छ,’ उनले भनिन्, ‘यो प्रविधिले विद्यार्थीलाई उत्साह पनि थपेको छ।’ 

अनलाइन एंव समुदायको पढाइले पढ्ने र सिक्ने बानी फेरि जुट्न थालेको विद्यार्थी बताउँछन्। 

तर, गाउँका सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन चुनौती छ। 

कक्षा ७ देखि माथिका विद्यार्थीलाई इन्टरनेटबाट पढाउन सकिए पनि तल्लो तहका विद्यार्थीलाई पढाउन सम्भव नहुने जानकारको बुझाइ छ। त्यसैले विद्यार्थीलाई पाठ्यपुस्तक पढाउनेबाहेक व्यावहारिक शिक्षा, भाषा, लेखनशिल्प आदि सिकाइरहेको विद्यालयले जनाएका छन्। 
याज्ञवल्क्य संस्कृत नमुना माध्यमिक विद्यालयले भर्ना अभियान पनि सुरु गरेको छ। अहिलेसम्म विद्यालयमा सय जनाले भर्ना गरेका छन्। 
विद्यालयले भर्ना नभएकालाई पनि पढाइरहेको प्रअ झाले बताए। 

महोत्तरीमा केही निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन्। सामुदायिक विद्यालयमा पनि अनलाइन कक्षा सुरु गर्ने तयारी भइरहेको छ। 

सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि अनलाइन कक्षाको तयारी सुरु भएको छ। 

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना संक्रमण फैलन नदिन सतर्कता अपनाइएको बताउँछन्। ‘दसैंअघि अनलाइन पढाइ गरिनेछ, त्यसपछि सक्रियताका साथ पढाइ सुरु हुन्छ,’ उनले भने। 
 

असोज १९, २०७७ सोमबार ००:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।