घरको खाजा
आज भान्सामा साग र फाफरको रोटी निकै निराश भएर बसिरहेका थिए। एउटा कचौरामा साग मुख फुलाएर बसिरहेको थियो। अर्को प्लेटमा फापरको रोटी ठुस्स परिरहेको थियो।
हुन पनि पाकेर तयार भएका यी खानेकुराहरुलाई हेँला गरेर स्कुल गएको थियो सौहार्द। फेरी तपाईंहरु आजकाल त स्कुल नै लाग्दैन कसरी सौहार्द स्कुल गयो भन्नुहोला।
यो कथा अहिले लेखिएको नभई आजभन्दा १ वर्ष अगाडी नै लेखिएको कथा हो। अँ, मैले के कुरो भन्दै थिए भने सौहार्द तोरीको साग अनि फापरको रोटी नखाएर आमासँग पैसा लिएर बाहिरबाटै खानेकुरा किन्छु भनेर गएको थियो।
आमाले पनि आफ्नो छोराले सकभर बाहिरको खानेकुरा नखाओस् भनेर बिहान सबेरै उठेर घरकै पोषिलो अनि स्वास्थवर्धक खानेकुरा तयार गरिदिनुहुन्थ्यो। तर, सौहार्दलाई स्कुलमा आफ्ना साथीहरुले ल्याएको चाउचाउ, भुजिया अनि थरीथरी क्रिमसमेत भएका बिस्कुटहरु देख्दा त्यो झन मिठो होला भन्ने लाग्थ्योे।
त्यसैले आज उसले घरको खानेकुरा नखाएर स्कुलमै केही किनेर खान्छु भनी आमासँग ५० रुपैयाँ लिएर गएको थियो।
आमाले पनि कहिलेकाँही बाहिरको खानेकुरा खाए पनि खाओस् न त भनेर धेरै आनाकानी गर्नुभएन, तर आफुले त्यति मेहनत गरेर तयार पारेको रोटी र साग छोराले नखाईदिँदा भने नरमाईलो मान्नुभयो।
स्कुलमा पढाइ सुरु भयो। आज सन्तुलित भोजनको बारेमा पढाइ भइरहेको थियो। गुरुआमाले हाम्रो शरीरको लागि आवश्यक पौष्टिक तत्वहरुको बारेमा पढाउँदै हुनुहुन्थ्यो।
गुरुआमाले हामीलाई कार्बोहाईड्रेड, प्रोटिन, भिटामिन र मिनरल्सहरु चाहिन्छ भन्दै पढाउँदै हुनुहुन्थ्यो।
कार्बोहाईड्रेडको बारेमा पढाउदा गुरुआमाले गहुँ,चामल,मकै,फापर जस्ता अन्नहरुको नाम लिनुभयो।
अनि कार्बोहाईड्रेडले हामीलाई शक्ति दिनेगर्छ भनेर सिकाउनुभयो। यतिबेला सौहार्दले झल्यास्स आफुले बिहान छाडेको फापरको रोटीलाई सम्झ्यो।
त्यसपछि प्रोटिन भन्दाखेरी गुरुआमाले दाल, माछा, मासु, अण्डा, दुध अनि ड्राइफ्रुटहरुको नाम लिनुभयो र प्रोटिनले गर्दा हाम्रो शरीरको बृद्धि हुन्छ भन्नुभयो।
यतिबेला फेरी उसले आफुले छोडेर आएको दुध सम्झ्यो। यसैगरी भिटामिनको बारेमा कुरा गर्दै भिटामिन थुप्रै किसिमका हुन्छन् त्यसमध्ये साग, फलफुलहरु भिटामिनका प्रमूख स्रोतहरु हुन भन्नुभयो।
यो बेला फेरी सौहार्दले घरमा नखाई आएको तोरीको सागलाई सम्झ्यो। यसैगरी गुरुआमाले क्याल्सियम, मिनरल्सहरुको बारेमा पनि कुरा गर्दै त्यसका फाईदाहरुको पनि वर्णन गर्नुभयो।
यो सबैकुराहरुको उदाहरण दिँदा उसले घरमा खाइरहने कुराहरुको नाम लिइरहनुभएको थियो गुरुआमाले।
घरमा खाने मात्र हैन सौहार्दले स्कुलको टिफिनमा पनि धेरैजसो गुरुआमाले भनेकै कुराहरु ल्याउने गर्थ्यो ।
हो, उसलाई ती कुराहरुभन्दा बजारमा पाइने जंकफुडहरु खान पाए राम्रोहुन्थ्यो भनेर सोचाई पनि आउँथ्यो तर उसलाई आज भने आफुले खाने गरेका कुराहरुमा गर्व महशुस भएको थियो।
गुरुआमा गइसकेपछि फेरी गणित र अंग्रेजी विषयको पढाइ भयो अनि टिफिन टाईम भयो।
आज उसले घरमा पनि नखाइकन आएको थियो। टिफिन ल्याएको पनि थिएन त्यसैले उसले आज बाहिरकै खाजा खानुपर्ने थियो।
भोक पनि लागेको थियो। त्यसैले उसले मन नलागेरै भएपनि झोलामा राखेको ५० रुपैयाँको नोट झिक्न हात बढाउँदाखेरी अचानक झोलामा एउटा स्टिलकोे टिफिनबक्स पो भेट्यो।
उसलाई अचम्म लाग्यो। त्यो टिफिनबक्स हुन त उसकै थियो तर उसले त ल्याएकै थिएन।
कसरी आयो त्यहाँ ? उसले हतारिँदै टिफिनबक्स खोल्यो। त्यहाँ त काजु किसमिस, स्याउ केरा अनि एउटा उसिनेको अण्डा पनि थियो।
उसलाई निकै अचम्म लाग्यो। तर, कताकता खुशी पनि लागेको थियो। किनकी आज उसलाई बाहिरको खाजा हैन घरकै खाजा खान मन लागेको थियो।
उसले त्यो टिफिनबक्स हातमा लिएकै बेला उसकी साथी आभा नजिकै आएर मुसुक्क हाँस्दै भनि,‘जाउँ खाजा खान’ मलाई तिम्रो आमाले सौहार्दलाई नभनिकन उसको झोलामा हालीदिनु है भनेकोले तिमी अघि बाहिर जाँदा हालिदिएको।
सौहार्दले बल्ल कुरा बुझ्यो अनि खुशी हुँदै आभासँगै खाजा खान गयो। उसलाई आज किन हो किन घरको खाजाजस्तो मिठोकुरा संसारमा केही छैनजस्तो लागेको थियो। अनि आमाजस्तो केयर गर्ने संसारमा कोही पनि हुँदैन जस्तो लागेको थियो।
असोज १५, २०७७ बिहीबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।