महँगो मोबाइलको प्रलोभनमा पर्दा...
विराटनगरको स्लामपुर नाका हुँदै सुनसरीकी एक किशोरीलाई बिक्रीका लागि भारत पुर्याइएको घटना सार्वजनिक भएसँगै मोरङको नाकाबाट मानव तस्करी हुने गरेको खुलासा भएको हो।
प्रहरीका अनुसार विराटनगरमा पूजामा बसिदिन भन्दै ल्याइएकी एक किशोरीलाई भारत पुर्याइएकी थियो। आफूलाई भारत पुर्याइएको थाहा पाएपछि किशोरी गाडीबाट हाम फालेर भागेर नेपाल आउन सफल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती किशोरीलाई पूजामा बसेबाफत महँगो मोबाइल, लुगाकपडा किनिदिने, पैसा दिने लगायतका प्रलोभन दिइएको थियो।
तस्करको समूहले किशोरीलाई बलि दिन लगेको प्रहरीले आशंका गरेको छ। यस विषयमा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए।
‘यसअघि एक मोडललाई बलि दिन लगेको घटनासँग जोडेर अनुसन्धान थालिएको छ,’ खड्काले भने।
घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको र उनीहरूको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको खड्काले बताए।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठी कैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भइ सुनसरीको रामधुनी–५, झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल छन्।
पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट सुमितकुमारले मनिका र प्रदीपकुमारको सहयोग लिएर किशोरीलाई भारत पुर्याउन खोजेको प्रहरी उपरीक्षक खड्काले बताए।
‘यो घटनालाई गम्भीररूपमा लिएका छौं,’ उनले भने।
‘गाडीबाट हाम फालेर भागे’
प्रहरीका अनुसार भारतीय भूमिमा पुर्याइएकी किशोरीलाई गाडीमा राखेर भारतको फारविसगन्जतर्फ लगिएको थियो। किशोरीले गाडीबाट हाम फालेर भागेको बताएको प्रहरीले जनाएको छ।
गाडीबाट भागेपछि त्यहाँ रहेका व्यक्तिहरु पछ्याउँदै आएको र उनीहरुले सँगै जान फकाउँदा पनि नमानेको किशोरीले बताइन्।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सुमितकुमारका भिनाजु रणधीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा निर्माणसम्बन्धी ठेक्कापट्टा गर्छन्।
सुमितकुमारले रणधीर र उनका भाइ वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर किशोरीलाई भारत लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गाडीमा रहेका व्यक्तिहरुको शंकास्पद गतिविधिबारे थाहा पाएपछि गाडीबाट हाम फालेर भागेको किशोरीलाई उध्दृत गर्दै प्रहरीले जनाएको छ।
किशोरीसँगै विराटनगर आएका उनीहरूले इस्लामपुरमा शंकास्पद गतिविधि गरेको देखेपछि सोधीखोजी गर्न थालिएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए।
भारत पुगेर फर्किंदै गर्दा इस्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गरेको उनले बताए।
यसरी ल्याइयो किशोरीलाई
दिदीसँग झुम्कामा तरकारी व्यापार गर्दै आएकी मनिकाले किशोरीलाई लिएर विराटनगर आएकी थिइन्। झुम्कामा बस्न थालेपछि मनिकाको चिनजान किशोरीको परिवारसँग भएको थियो। किशोरीकी आमाले मनिकालाई भान्जी भनेर बोलाउने गर्थिन्।
किशोरीको तीन/चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितकुमारसँग चिनजान भएको थियो। सम्पर्क बढेपछि नजिकिएका सुमितकुमारले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको पाइएको छ।
प्रहरी स्रोतका अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर विराटनगरको एउटा पूजामा लैजाने र दुई घन्टापछि फर्किने भन्दै आमाको अनुमतिमा किशोरीलाई घरबाट ल्याएकी थिइन्। मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा समेत पारेकी थिइन्।
मनिकाले पूजामा बसेपछि मोबाइल तथा लुगाकपडा किनिदिने र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्। तर, दुई घन्टामा ल्याइदिने भन्दै घरबाट लगिएकी छोरी साँझसम्म पनि नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।
त्यसपछि साना हातहरु नामक संस्थाले सोमबार साँझ किशोरीलाई सीमा क्षेत्रबाट उद्धार गरिएको जानकारी आमालाई दिएको थियो। त्यस क्रममा किशोरीले मनिकासँगै नचिनेका दुई व्यक्तिले आफूलाई भारत पुर्याइएको र भागेर नेपाल आउन सफल भएको आमालाई बताइन्।
१२ लाखको डिल
रणधीर र उनका भाइ वीरेन्द्र मण्डलले आफूलाई किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएको सुमितकुमारले प्रहरीलाई बयान दिएका छन्। ‘सिम्राही पुर्याइएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी थियो। तर, किशोरी भागेपछि उनीहरू आफ्नो योजनाबाट असफल भएको प्रहरी स्रोतले जनाएको छ।
सुमितकुमारले तीन-चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले प्रहरीलाई बताएकी छन्।
असोज ८, २०७७ बिहीबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।