चक्लेट दिएर फकाउँदै, मुन्द्रा टप्काउँदै !

चक्लेट दिएर फकाउँदै, मुन्द्रा टप्काउँदै !

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्नलाई पक्राउ गरेसँगै यो अपराधको पर्दाफास भएको हो।

परिसरका अनुसार यस्तो गिरोहले बालबालिकाहरुलाई चकलेट र आईसक्रिम दिई  फकाउने, आमाको साथी भन्दै विश्वास दिलाउने र ललाईफकाई, प्रलोभनमा पार्ने तथा डरत्रास देखाई लुटपाट गर्ने गरेको पाईएको छ।

प्रहरीले यस्तो अपराधमा संलग्न २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा लुटपाट गर्ने महिला बर्ष ३२ की संगिता क्षेत्री रहेकी छन्। 

म्याग्दी घर भई बालाजुमा डेरा गरी बस्ने क्षेत्रीले २२ स्थानमा वालवालिकाको मुन्द्रा लुटेर फरार भएको जानकारी आएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

ती महिलालाई गोकर्णेश्वर नगरपालिका– ८ माकलवारीबाट महानगरीय प्रहरी वृत्त वौद्धको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै लुटिएको सुनका मुन्द्रा र रिङ्ग खरिद गर्ने ३० वर्षीय मुरली विक पनि पक्राउ परेका छन्। 

काभ्रेपलाञ्चोक रोशी गाँउपालिका–१२ घर भएका विक ललितपुर सौगलमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ। 
विकले आफ्नै सुन चाँदी पसलमार्फत लुटिएका र विना बिलका सुनहरु सस्तोमा खरिद गर्ने र स्वरुप परिवर्तन गरी विक्री गर्ने गरेको पाइएको थियो। 

पक्राउ परेसँगै विकले कनिवहालमा दर्ता विनाकै सुन पसल संचालन गरेको खुलेको प्रहरीले जनाएको छ।

महिलाको साथबाट एक थान मोवाईल र साँढे ६ सय नगद तथा विकको साथबाट चुडिएको सुनको सिक्री १ थान (अन्दाजि ६२ लाल), गालेको सुन ६१ लाल, नगद ३० हजार पाँच सय, मोबाईल थान १ र सिम थान १ बरामद गरिएको प्रहरीले जनाएको छ। 

ती महिलाले तारकेश्वर मनमैजु, कपन, कपुरधारा, गल्कोेपाखा, नागार्जुन, स्यूचाटार, कोटेश्वर, गोठाटार, माहांकाल ओरालो, आरुबारी

बौद्ध, शिवचोक, नारायणटार लगायतका स्थानका बालबालिकाको गहना लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

लुटपाटमा संलग्न महिला पक्राउ परेसँगै अभिभावकहरु समन्वय गर्न प्रहरी वृत्त बौद्धको सम्पर्कमा आउनथालेका छन्।
 

असोज ७, २०७७ बुधबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।