लक्ष्मीपूजाको दिन २५३ मेगावाट विद्युत् भारत निर्यात, नेपालमा माग एक हजार ६ सय मेगावाट
काठमाडौँ : लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ। लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६: २५ बजे पिक डिमान्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड एक हजार ४३८ मेगावाट थियो। गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ। गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो।
यसवर्ष बाढी पहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ। यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमान्ड एक हजार ९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो।
कात्तिक १५, २०८१ शुक्रबार १४:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।