डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको यथावत्
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो। तर, पेट्रोलको मूल्य भने यथावत् छ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रूपैयाँ कायम भएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रूपैयाँ र डिजेलमा १.०४ रूपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
कात्तिक १४, २०८१ बिहीबार २०:५९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।