हिरासतमै बित्ने भयो रवि लामिछानेको तिहार !

हिरासतमै बित्ने भयो रवि लामिछानेको तिहार !

काठमाडौं : सहकारी ठगी र सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान बुधबार सकियो। त्यसको एकदिनपछि (हिजो)देखि सरकारी बिदा सुरू भएकाले रवि अब तिहारसम्मका लागि हिरासतमै रहने भएका छन्। 

यसपटकको भाइटीका कात्तिक १८ मा परेको छ। त्यसको दुई दिनपछि रविलाई अदालतमा उपस्थित गराइनेछ। तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० मा अदालतमा उपस्थित गराइने प्रहरी स्रोत बताउँछ। 

सूर्यदर्शनको रकम अपचलनमा संलग्न रहेको आरोपमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्। खनाल हालसालै पक्राउ परेका हुन्। अन्य दुई लामिछानेभन्दा अगाडि पक्राउ परेका हुन्।

रविको बयान सकिए पनि अन्य जिल्लामा समेत उनी विरुद्ध पक्राउ आदेश जारी भएकाले उनी तत्काल हिरासतमुक्त हुने अवस्था देखिन्न। सुप्रिम सहकारीको रकम अपचलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट उनको नाममा पक्राउ अनुमति लिइसकेको छ।

यता, बुधबार सकिएको बयानमा रविले सुर्दयर्शन सहकारीमा रहेको वचतकर्ताहरुको रकम अपचलनको आरोपमा उनको बयान मात्र ४५ पृष्ठ लामो रहेको जानकार स्रोतले बतायो।

उनले सुदर्शन सहकारीको रकम अपचलनबारे सोधिएको हरेक प्रश्नको उत्तरमा आरोप अस्वीकार गरेका थिए।

स्रोतका अनुसार उनले बयानमा सहकारीको रकम अपचलनमा आफू संलग्न नरहेको, शुर्यदर्शनबाट ऋण नलिएको, गोर्खा मिडियामा गएको रकमबारे आफूलाई जानकारी नभएको, सहकारीबाट गोर्खा मिडियामा ऋण लैजानेबारे कम्पनीले कुनै निर्णय नगरेको दाबी गरेका छन्। 

कात्तिक १४, २०८१ बिहीबार १८:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।