जनता र पार्टी कार्यकर्ताले समेत नस्वीकारेका रिजाललाई ओलीले दिए ‘आयोग अध्यक्ष’ पुरस्कार

जनता र पार्टी कार्यकर्ताले समेत नस्वीकारेका रिजाललाई ओलीले दिए ‘आयोग अध्यक्ष’ पुरस्कार

बुटवल : एमाले लुम्बिनी प्रदेश अधिवेशनमा राधाकृष्ण कँडेलसँग पराजित प्यूठानका नेता हरि रिजाललाई सरकारले भूमि समस्या समधान आयोगको अध्यक्ष बनाएको छ।

एक वर्षसम्म पार्टीमा भूमिकाविहीन बसेका रिजाललाई एमाले महासचिव शंकर पोखरेलको आग्रहमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्ष नै बनाएको हो।

आयोगको सदस्यमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोवद्र्धन कोली र आरती भण्डारी छन्।

यसलाई पार्टीका असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले पार्टी अधिवेशनमा पराजित भएको क्षतिपूर्तिको रूपमा अर्थ्याएका छन्।

सो त लुम्बिनी एमालेभित्र पटक-पटक अवसर पाइरहने नेताका रूपमा रिजाल चिनिन्छन्। पहिलो प्रदेश सभाको कार्यकालमा सांसद, मन्त्री, दोस्रोमा प्रदेश सभा सदस्यको उम्मेदवार, पार्टी केन्द्रीय सदस्य लगायतका अवसर पाउने नेता रिजाल हुन्।

०७९ को प्रदेश सभा सदस्यको निर्वाचनमा रिजाल प्यूठानबाट पराजित भएका उनलाई हाल लुम्बिनी प्रदेश सरकारका मन्त्री रहेका कांग्रेसका रोज राणा(सरोज थापा)ले हराएका थिए।

गतवर्ष भदौमा भएको एमाले प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएपछि उनले भइरहेको केन्द्रीय पोलिटब्यूरो सदस्यको पद पनि गुमाएका थिए।

लुम्बिनी प्रदेशको अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा गतवर्ष गुटगत निर्वाचन भएको थियो। कँडेललाई विष्णु पौडेलले साथ दिँदा महासचिव पोखरेलले रिजाललाई काँध थापेका थिए।

कात्तिक १४, २०८१ बिहीबार १४:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।