भारतको ‘र्याली अफ हिमालयाज’मा विजयी नेपाली राइडर साहलाई रोयल इन्फिल्ड नेपालको सम्मान
काठमाडौं : भारतमा सम्पन्न ‘र्याली अफ हिमालयाज’को चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी भएका नेपाली राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)ले सम्मान गरेको छ।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)ले एक कार्यक्रमका ९५ हजार रुपैयाँसहित बीच सम्मान गरेको हो।
साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए। यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भूभाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो। सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे। राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए।
विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ। सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ।
र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू-भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ।
इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।
र्याली अफ हिमालयमा सहभागी भएपछि दीपक साहले प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत भएकोमा गौरवान्वित महसुस गरेको बताए। दीपक साहले शुरूदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन्।
दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए। त्यसैगरी २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए। उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्याली अफ चाम्बाको विजयी समेत बनेका थिए।
रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ। ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाइहरूलाई सजिलैसँग पार गर्न सक्षम छ।
बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पुर्याउने कम्पनीको दाबी छ।
कात्तिक १४, २०८१ बिहीबार १३:४३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।