उकेराको चौथो वर्ष : प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्यायको यात्रा
प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्यायप्रति समर्पित अनलाइन पोर्टल ‘उकेरा’ आज चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। ‘व्यक्ति होइन, प्रमाण प्रमुख हो’ भन्ने मूल मान्यतालाई अँगाल्दै उकेरा क्रियाशील छ र रहनेछ।
शक्तिको आडमा उन्मुक्ति पाउँदै आएकाहरूलाई कानूनको कसीमा उभ्याउन उकेराले सफल दबाब सिर्जना गरेको अनुभव गरेका छौँ। स्थापनाकालदेखि नै घटनापरक समाचारभन्दा अनुसन्धानमूलक सामग्रीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएका छौँ। यसमा पाठकबाट आएको सकारात्मक प्रतिक्रियाबाट हामी उत्साहित छौँ।
आम सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज भनिए पनि यहाँ जसको चर्को आवाज छ उसैको मात्र सुन्ने प्रवृत्ति बढिरहेको छ। यो अवस्थालाई चिर्न हामीले महिला, दलित, पिछडिएको वर्ग, जनजाति र यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाजलाई विशेष प्राथमिकता दिइरहेका छौँ।
‘मध्यमधार’ स्तम्भमार्फत लैंगिक अल्पसंख्यक समुदायको आवाज मुखरित गरेका थियौँ, अहिले ‘जातका कुरा’ स्तम्भमार्फत दलित समुदायका मुद्दाहरूको उठान गरेर नीति निर्माण तहसम्म पुर्याउन पहल गरिरहेका छौँ। यो क्रम पाँचौं वर्षमा पनि निरन्तर रहने छ।
अनियमितता र भ्रष्टाचारमाथि हाम्रो तीक्ष्ण नजर चौथो वर्षमा पनि कायमै रह्यो। स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा भएको संगठित अनियमितताबारे प्रमाणसहितका खोजमूलक सामग्री प्रकाशित भयो। उकेराले केन्द्रदेखि स्थानीय तहसम्म भएका अनियमितताबारे गरेको खुलासाका केही विषय कारबाहीको दायरामा आए, केही कारबाहीको प्रक्रियामा छन्।
गुठी, सरकारी र सार्वजनिक जग्गा व्यक्तिगत बनाउने सत्ता शक्तिको निरन्तर उपभोग गर्ने भेषबहादुर थापालगायतको कर्तुत सार्वजनिक गर्न हामी सफल भयौँ। चण्डोलमा रहेको चार रोपनी जग्गा निजी विद्यालयको बनाएको, बागेश्वरी मन्दिरको ११ सय रोपनी जग्गा व्यक्तिगत बनाउने प्रयास र सर्दु जलाधारको जग्गाको लालपुर्जा निकाल्ने प्रकरणबारे सप्रमाण समाचार प्रकाशित गरियो। यी सबै विषय अहिले सरकारी निकायको छानबिनको दायरामा आएका छन्।
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले तालको आवरणमा गरेको भ्रष्टाचार उकेराले उजागर गरेको थियो। उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। यसलाई हामीले हाम्रो सफलताको रुपमा लिएका छौँ।
केन्द्रीय मन्त्री दीपक खड्का होस् वा प्रदेश मन्त्री रोज राणा, राजनीतिभित्र घुसिरहेको अपराधिकरणमाथि हाम्रो तीक्ष्ण नजर कायमै रह्यो। समताको नाममा उत्तम सञ्जेलले फैलाएको ठगी जालो र अपाङ्ग संघमा भएका अनियमितता पनि चौथो वर्षको उजागर गर्न सफल भयौँ।
शक्तिको आडमा कुखुरा तस्करी गर्ने मोहम्मद इस्तियाक राई, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र श्रममन्त्री शरतसिंह भण्डारीलगायतका व्यक्तिहरूको अनियमितता सार्वजनिक गर्न उकेरा सफल भयो। रेडक्रसका पदाधिकारीहरूले गरेको अनियमितता र विद्युतीय सवारीमा भइरहेको बदनियतलाई पनि प्राथमिकताका साथ उजागर गरियो। यी केही उदाहरण मात्र हुन्।
हामीले अनियमितता र बदनियत मात्र होइन, जेनिशा कडायतलगायतका व्यक्तिहरूको सफलताका कथालाई पनि उत्तिकै महत्त्व दिएका छौँ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ। हामी संख्यामा होइन, गुणस्तर र विश्वसनीयताको प्रतिस्पर्धामा विश्वास गर्छौँ। त्यसैले हाम्रा सामग्रीको संख्या कम भए पनि प्रभावका आधारमा उकेराको उचाइ बढाउन निरन्तर प्रयत्नशील छौँ।
छापामाध्यमको अभ्यास गर्दै उकेरा म्यागजिन अर्ध वार्षिक रूपमा प्रकाशित गर्दै आएका छौँ। अघिल्लो अंकमा हामीले नेपालको इतिहासमा अतुलनीय योगदान दिएका महेशराज र दिनेशराज पन्तबारे विशेष सामग्री प्रकाशित गरेका थियौँ। पाठकहरूबाट आएको उत्साहजन प्रतिक्रियाबाट हामी गदगद भएका छौँ। छापा पत्रकारिताको अभ्यासमा हामी यस्तै खँदिलो सामाग्री पस्कन प्रयत्नशील रहने छौँ।
खोजी पत्रकारितामा आउने आर्थिक चुनौती सामना गर्न यसै वर्षबाट हामी स:शुल्क सामग्री लिएर आउँदै छौँ। नि:शुल्क सामग्री दिने यो प्रतिष्पर्धाकाबीच ‘पैसा तिरेर उकेरा किन पढ्ने?’ भन्ने पाठकको जिज्ञासाको उचित सम्बोधनसहित आउनु हाम्रो चुनौती हो।
हामी संस्था सञ्चालनमा आर्थिक स्रोतको सहजताका लागि मात्रै स:शुल्क सेवामा प्रवेश गर्न लागेका होइनौं, पाठकहरूबाट हुने आर्थिक समर्थनलाई ‘कार्यालय सञ्चालन’मा नभई खोजी पत्रकारितामा खर्च गर्ने मूल लक्ष्य हो। यसमा हामी जति खरो उत्रन सक्यौँ पाठकहरूबाट त्यही रूपमा आर्थिक समर्थन हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।
सञ्चार माध्यमको विश्वसनीयता निरन्तर ह्रास भइरहेको चुनौतीपूर्ण अवस्थामा विश्वासको कसीमा खरो उत्रनु नै हाम्रो मुख्य चुनौती हो। यसको एक मात्र विकल्प ‘व्यक्तिका आधारमा नभई तथ्यको आधारमा समाचार’ प्रकाशित गर्ने मात्रै हो। हिजोका दिनमा आफ्नै क्षेत्रका व्यक्तिबारे उठेको कानूनी प्रश्नबारे प्रमाणसहित समाचार सम्प्रेषण गरेर हामीले ‘व्यक्ति होइन, प्रमाण प्रमुख हो’ भन्ने पुष्टि समेत गरेका छौँ। यसमा पाठकहरूबाट हाम्रो कामको मूल्याङ्कन पनि भएको छ। यसले हामीलाई थप हौसला मिलेको छ।
वेब पोर्टल हुँदै अहिले आर्टिफिसियल इन्टेलिजेन्स अभ्यासमा आइसक्यो। नयाँ-नयाँ प्रविधिको विकाससँगै समाचार कक्षमा तिनको रचनात्मक प्रयोगमा अभ्यस्त हुन अनिवार्य छ। यी सबै क्षेत्रमा हामी सचेत र प्रयत्नशील छौँ।
अन्त्यमा, संकटपूर्ण आर्थिक अवस्थामा पनि हाम्रो खोजपूर्ण यात्रालाई साथ दिने सबै विज्ञापनदाता, बाटो बिराउलान् कि भनेर झक्झकाइरहने सचेत पाठक र कतै निरास होलान् कि भनेर प्रोत्साहित गरिरहने शुभचिन्तकप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौँ।
तिहार सबैको शुभ रहोस्।
सुरेश ढकाल
अध्यक्ष
उकेरा डटकम
कात्तिक १४, २०८१ बिहीबार १२:३०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।