काराबाओ कप : कोडी गाक्पोको दुई गोलले लिभरपुल क्वार्टरफाइनलमा, अरु को-को पुगे?
काठमाडौं : लिभरपुलका फरवार्ड कोडी गाक्पोको दुई गोलको मद्दतले ब्राइटनलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
विहीबार विहान सकिएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन। तर, दोस्रो हाफको पहिलो मिनेटमै डच खेलाडी गाक्पोले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनले बललाई कटिङ गर्दै भित्र ल्याई शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए।
गोल भएपछि खेलमा थप रोमाञ्चकता आयो। लिभरपुलका गोलकिपर वीतेजस्लाभ यारोसले लिभरपुलका लागि आफ्नो पहिलो पूर्ण खेलमा सिमोन अडिङ्ग्राको हेडरलाई एक हातले उत्कृष्ट बचाउ गरेका थिए।
ब्राइटनका इभान फर्गुसनले अवसर पाए पनि बार माथिबाट प्रहार गर्दै गोल गर्न चुके। अर्को सुनौलो मौका लिभरपुलले तीन खेलाडीको आक्रमणमा पाए। तर गाक्पोले स्वार्थी नबन्दै डोमिनिक सोबोस्ज्लाईलाई पास दिए, जसको प्रहार ब्राइटनका डिफेन्डरले ब्लक गरेका थिए।
तारिक लाम्प्टीको गल्तीपछि गाक्पो बल लिएर बक्सभित्र छिरे र सहजै गोल गर्दै ६३ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए।
ब्राइटनले खेलको अन्तिम समयमा आक्रामक खेलेको थियो। लिभरपुलको त्रुटिमा ८१ औं मिनेटमा अडिङ्ग्राले गोल गर्दै अन्तर कम गरेका थिए।
तर, लुइस डायाजले ८५ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का जस्तै गरेका थिए। अन्तिम ९० मिनेटमा लाम्प्टीले डिफ्लेक्ट भएको बलमा गोल गरे पनि लिभरपुलले ३–२ को जीत पक्का गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो।
त्यसैगरी स्टोक सिटीलाई हराएर साउथह्याम्पटन, सेफल्ड वेनस्डेलाई हराएर ब्रेन्फोड, आर्सनलले प्रेस्टनलाई, म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीलाई, न्यूक्यास्टलले चेल्सीलाई, क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई र टोटनहमले म्यान्चेस्टर सिटीलाई हरायो।
कात्तिक १४, २०८१ बिहीबार ०८:३८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।