रविको बयान सकियो, तिहारपछि हिरासतमुक्त होलान्?

रविको बयान सकियो, तिहारपछि हिरासतमुक्त होलान्?
तस्बिर : अर्काइभ

काठमाडौँ : सहकारी ठगी र सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको बयान बुधवार सकियो। सुर्दयर्शन सहकारीमा रहेको वचतकर्ताहरुको रकम अपचलनको आरोपमा उनको बयान मात्र ४५ पृष्ठ लामो रहेको जानकारस्रोतले बतायो।

उनले सुदर्शन सहकारीको रकम अपचलनबारे सोधिएको हरेक प्रश्नको उत्तरमा आरोप अस्वीकार गरेका थिए।

स्रोतका अनुसार उनले बयानमा सहकारीको रकम अपचलनमा आफू संलग्न नरहेको, शुर्यदर्शनबाट ऋण नलिएको, गोर्खा मिडियामा गएको रकमबारे आफूलाई जानकारी नभएको, सहकारीबाट गोर्खा मिडियामा ऋण लैजानेबारे कम्पनीले कुनै निर्णय नगरेको दाबी गरेका छन्।

उनले बयानमा सहकारीबाट गएको रकम अध्यक्ष जीवी राईले व्यक्तिगत ऋणको रूपमा लगेकाले कम्पनी र प्रबन्ध निर्देशकको रूपमा आफू जिम्मेवार नरहेको समेत दाबी गरेको स्रोतको दाबी छ। बिहीबारबाट सार्वजनिक बिदा हुने भएकाले बुधवारै सरकारी वकिलको कार्यालयका अधिकारीले उनको बयान प्रमाणित गरेका छन्।

सूर्यदर्शनको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्। खनाल हालसालै पक्राउ परेका हुन्। अन्य दुई लामिछानेभन्दा अगाडि पक्राउ परेका हुन्।

रविको बयान सकिए पनि अन्य जिल्लामा समेत उनी विरुद्ध पक्राउ आदेश जारी भएकाले उनी तत्काल हिरासतमुक्त हुने अवस्था देखिन्न। सुप्रिम सहकारीको रकम अपचलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट उनको नाममा पक्राउ अनुमति लिइसकेको छ।

कात्तिक १४, २०८१ बिहीबार ०१:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।