‘केटी हराएको सूचना’ को ट्रेलरमा पुष्पा २ को पोस्टर किन ?
काठमाडौँ : फिल्म मिसिङ : केटी हराएको सूचनाको दुई वटा टिजर सार्वजनिक गर्दा निर्माण टिमले पुरै क्राइम थ्रिलर जनराको फिल्मको संकेत दिएका थिए। तर बुधवार ट्रेलर सार्वजनिक गर्दा लभ स्टोरी जनराझैँ देखाए।
आफ्ना साथीहरूलाई हट प्रेमिकाको तस्बिर देखाउने चक्करमा डेटिङ एपहुँदै सिता अर्थात् सृष्टि श्रेष्ठसँग भेट हुन्छ उही राम अर्थात् नाजिर हुसेनको। काठमाडौँको केटी अनि तराईको केटाबीचको प्रेमहुँदै फिल्मलाई अगाडि बढाउनेक्रममा कुनै घटना विशेषमा लगेर निर्देशकले सस्पेन्स जोडे जस्तै देखिन्छ ट्रेलरमा।
बुधवार सार्वजनिक भएको ट्रेलरको शैली पनि यस अगाडि सार्वजनिक भएका अन्य फिल्मको तुलनामा अलि भिन्न शैली अपनाइएको छ। ट्रेलरमा कथावाचक (न्यारेटर) राखिएको छ। अनि वाचक छन् कलाकार बुद्धि तामाङले।
ट्रेलरभर नाजिर अनि सृष्टिकै दृश्यहरू राखिएको छ। ट्रेलरको उद्देश्य दर्शकलाई यो कुन जनराको फिल्म हो भनेर कन्फ्युज्ड बनाएर हलसम्म ल्याउने देखिन्छ। न्यारेटर बनेका बुद्धिले पनि यो कुन जनराको फिल्म भनेर ट्रेलरमै भनेका छन्। ट्रेलरमा लगभग फिल्मको कथासार देखिन्छ। ट्रेनमा जाँदै गरेकी सृष्टि अनि नाजिरसँग प्रहरीको जम्काभेटको दृश्यले भने फिल्म कतातिर गइरहेको हो भनेर अलि अन्योल भने बनाउँछ। सायद निर्देशकको चाहना पनि यही हो जस्तो देखिन्छ।
ट्रेलर फिल्म चिनाउने उदेश्यले बनाइन्थ्यो। यो फिल्मको ट्रेलरमा भने फिल्मसँगै निर्देशक समेत चिनाउने प्रयास गरिएको छ। करिब ३२ वर्षपछि फिल्म निर्माणमा आएका दीपेन्द्र गौचनले 'उजेली' टेलिफिल्म बनाएका थिए। ट्रेलरमा त्यसको तस्बिर राखेर दर्शकहरूलाई निर्दशक चिनाउने प्रयास गरिएको छ।
सँगै, ट्रेलरमा गौचन निर्माणमा संलग्न रहेको मोमिन कार्टुन अनि ज्याकी चेनको तस्बिर समेत राखिएको छ। गौचनले ज्याकीलाई अभिनय गराएर कन्डमको एड बनाएको एक कार्यक्रममा खुलाएका थिए। ट्रेलरमा यी सबैको सम्बन्ध निर्देशकलाई परिचित गराउन मात्रै देखिन्छ।
केटी हराएको सूचनाको ट्रेलरमा पुष्पा-२ को पोस्टर देखाएर ‘पुष्पाको एड पो आयो त। तर नेपाली दर्शकले नेपाली फिल्मलाई माया गर्छ है’ भन्ने न्यारेसन समेत राखिएको छ। यो प्रशंगको अर्थ र फिल्ममा सम्बन्ध भने अभिनेता पात्र पुष्पाको फ्यान हुनु मात्र देखिन्छ। थप केही सम्बन्ध छ त?
फिल्म ‘केटी हराएको सूचना’ कात्तिक ३० देखि प्रदर्शनमा आउँदै छ। तर त्यो दिन हलमा रिलिज हुने यो एक्लो नेपाली फिल्म भने हैन, योसँगै दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरूको बाक्लै उपस्थिति रहेको नेपाली फिल्म 'ह्रस्व दीर्घ' पनि रिलिज हुँदैछ।
हलमा दुई वटा नेपाली फिल्म जुध्दा दुवै फिल्मको व्यापार चौपट भएका पनि छन्। जस्तो फर्की फर्की अनि पूजार सार्की। तर एकै दिन तीन वटा फिल्म रिलिज हुँदा एउटाले लगानी सुरक्षित गरेको अनि अन्य दुई फिल्म गुणस्तरमा कमजोर भए पनि व्यवसायमा भने हिट भएका छन्। जस्तो ज्वाइँ साब, छक्कापञ्जा ५ अनि १२ गाउँ।
त्यसैले आफ्नो प्रडक्ट अनुसारको मार्केटिङ गरेर दर्शकसम्म पुग्न सक्यो भने एकै पटक दुई फिल्म रिलिजहुँदैमा डराइहाल्नु पर्ने भने देखिँदैन तत्काल। ' केटी हराएको सूचना' को जनरा नखुले पनि ह्रश्व दीर्घको जनारा खुलेको छ। यसको आधारमा यी भिन्न फिल्म हुन् भन्ने देखिन्छ।
उता ह्रस्व दीर्घको टिम पनि फिल्म प्रचारमा मज्जैले लागेका छन्। प्रचारमा दक्षिण भारतीय कलाकार त छैनन्। नीता ढुङ्गाना र हरिहर अधिकारीलाई विवाहपछि भारतमा बस्दै आएकी विपना थापा नेपालमै आएर मज्जाले साथ दिइरहेकी छिन्।
कात्तिक १४, २०८१ बिहीबार ००:४४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।