शिख नेताको हत्या विवादबाट सुरू भएको भारत-क्यानडा तनाव थप बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

शिख नेताको हत्या विवादबाट सुरू भएको भारत-क्यानडा तनाव थप बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

एजेन्सी : भारत र क्यानडा बीचको सम्बन्ध थप चिसिँदै गएको छ। दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन्।

यो विवाद गतवर्ष क्यानडामा भएको शिख अलगाववादी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ। क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू त्यो हत्यामा संलग्न भएको दाबी गरेपछि सम्बन्ध थप जटिल बनेको हो।

क्यानाडाका प्रहरीहरूले भारतीय एजेन्टहरूलाई ‘हत्या, जबर्जस्ती असुली र हिंसात्मकगतिविधिहरू’मा संलग्न भएको आरोप लगाएका छन् र खालिस्तान आन्दोलनको समर्थन गर्नेहरूलाई निशाना बनाएको बताएका छन्। खालिस्तान आन्दोलनले भारतमा शिखहरूको लागि छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै आएको छ। 

भारतीय सरकारले यी आरोपहरूलाई ‘असम्भव’ भन्दै खण्डन गरेको छ। भारतको तर्फबाट जारी वक्तव्यमा टुडोले क्यानडाको ठूलो शिख समुदायलाई आकर्षित गर्न राजनीतिक फाइदाका लागि यस्तो आरोप लगाएको आरोप लगाइएको छ।

भारतको विदेश मन्त्रालयले क्यानडाका कार्यवाहक उच्चायुक्त स्टुअर्ट रोस व्हिलरसहित छ जना क्यानाडाली कूटनीतिज्ञलाई अक्टोबर १९ सम्म भारत छोड्न आदेश दिएको छ।

दुई देशबीचको यो विवादले पारस्परिक सम्बन्धलाई थप बिगारेको छ। भारतले क्यानडाको भिसा सेवा पनि निलम्बन गरेको छ।

यसैबीच, क्यानाडाली सरकारको तर्फबाट टुडोले भने, ‘यो प्रमाणलाई बेवास्ता गर्न सकिँदैन। यो घटनाले क्यानडाको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई खतरामा पारेको छ, त्यसैले हामीले यो कदम चालेका हौं।’

दुई देशबीचको सम्बन्धलाई सुधार गर्ने कुनै संकेत हालसम्म देखिएको छैन। क्यानडामा विश्वकै सबैभन्दा ठूलो शिख समुदाय रहेको र भारतको लागि यो मुद्दा निकै संवेदनशील बनेको छ।

दुवै देशका अधिकारीहरूले यो समस्या समाधानको उपाय खोज्न आवश्यक भएको बताएका छन्, तर तत्काल समाधानको कुनै संकेत देखिएको छैन।

असोज २८, २०८१ मंगलबार १५:४३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।