हिन्दूवादी संघसंस्थाले भने 'बालेनले गौशाला धर्मशाला कब्जा गर्न खोजे, पशुपति क्षेत्र इसाई भर्ती केन्द्र बन्यो'

हिन्दूवादी संघसंस्थाले भने 'बालेनले गौशाला धर्मशाला कब्जा गर्न खोजे, पशुपति क्षेत्र इसाई भर्ती केन्द्र बन्यो'

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्।

काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन्। 

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरूबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदायमाथि मात्रै नभइ हिन्दूहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमिमाथिको आक्रमण भएको आरोप लगाए। 

विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगीको निःशुल्क डायलाइसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति उनीहरुको आरोप छ।  

कार्यक्रममा उपस्थित पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो शुरूआत भएको बताए।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरूको भर्ती केन्द्र बनेको पराजुलीको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर, हिन्दूहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए।

त्यस्तै, पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिँदा पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए।

उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर काठमाण्डौं महानगरका मेयर बालेन शाहले धर्मशाला कब्जा गर्न खोजेको र त्यस कार्यशैलीको सचिव थापाले ‘गुण्डा नाइक’जस्तै भूमिका निर्वाह गरेको बताए।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु थिए। 

असोज २८, २०८१ मंगलबार १५:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।