भारतले छ क्यानडेली कुटनीतिज्ञलाई देश निकाला गरेपछि प्रधानमन्त्री ट्रुडोद्वारा पत्रकार सम्मेलन

भारतले छ क्यानडेली कुटनीतिज्ञलाई देश निकाला गरेपछि प्रधानमन्त्री ट्रुडोद्वारा पत्रकार सम्मेलन

एजेन्सी : भारतले छ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन्।

राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई आपराधिक गतिविधिको प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको बताएका छन्।

‘क्यानडा-भारतबीच जनता–जनताको सम्बन्ध, व्यापार र वाणिज्यको लामो इतिहास छ। तर हामी अहिले जे देखिरहेका छौँ, त्यो सहन सक्दैनौं,’ क्यानडाका विदेशमन्त्री मेलानी जोलीसँगको पत्रकार सम्मेलनमा ट्रुडोले भने, ‘क्यानडाले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा सम्मान गर्छ र हामी भारत सरकारले क्यानडाका लागि पनि त्यस्तै गर्ने अपेक्षा गर्दछौँ।’

क्यानडामा क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता भएको दाबी गरेपछि यस विषयमा भारत सरकारसँग सहयोगका लागि अपिल गरिएको ट्रुडोले आरोप लगाए।

खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्यासँगै भारत र क्यानडाको सम्बन्ध चिसिएको हो। यसमा अमेरिकाले समेत क्यानडालाई समर्थन गरेको छ।

भारतमा शिखहरूको पक्षमा स्वतन्त्र देश खालिस्तानको पक्षमा काम गर्दै आएका निज्जर क्यानडामा मारिएपछि त्यहाँका प्रधानमन्त्रीले जस्टिन ट्रुडोले संसदमा जानकारी दिँदै भारतीय कुटनीतिज्ञको संलग्नतामा हत्या भएको सार्वजनिक गरेका थिए। लगत्तै एकले अर्को देशको कुटनीतिज्ञलाई देश निकाला गर्ने प्रक्रिया शुरू भएको थियो।

असोज २८, २०८१ मंगलबार ०७:४९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।