मयूर नाच जोगाउन कस्सिए हल्चौरका युवा

मयूर नाच जोगाउन कस्सिए हल्चौरका युवा

काँक्रेविहार (सुर्खेत) : जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जुटेका छन्। दशैँ, तिहारजस्ता पर्वमा युवाले उक्त नाच गाउँ गाउँमा गएर प्रदर्शन गर्न थालेका छन्।

डोल्पाबाट बग्दै आयो कस्तुरीको विना ! वन बराउँछ बयार्लैले, मन बराउँछ किन ? गैरीखेत घाँस खाँदै आए डोल्पाली घोडा, हजुरको मयूर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा।' यी टुक्काहरू सिँगारु नाचका हुन्।

स्थानीय विष्णु केसीका अनुसार युवाले रकम जुटाएर मयूर नाचका लागि आवश्यक सामग्री खरिद गरी गाउँमा मयूर नाच देखाइरहेका छन्।

पछिल्लो समय ‘स्पिकर’बाट गीत बजाएर नाच्ने चलन बढिरहेको समयमा मयूर तथा सिँगारु नाचले गाउँमा रौनकता छाएको पञ्चभयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताए।

अघिल्लो पुस्ताले गाउने र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो। अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरेकामा आफूलाई खुसी लागेको उनले बताए।  
सल्यान, रुकुम पश्चिमको मग्मालगायतका ठाउँबाट सिकेर यहाँका युवाले मयूर नाच गाउँमा प्रदर्शन गरिरहेका छन्।

‘पहिला हाम्रो पालामा केटाकेटीको कुरा गीतबाटै हुन्थे, आजभोलिको जस्तो मोबाइल थिएन’ स्थानीयवासी हरिबहादुर खत्री भन्छन्,‘मादल, कुरकुटी, झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो।’

मयूर नाचसँगै सिँगारु नाचका गीतले अहिले हल्चौरको गाउँमा छुट्टै रौनकता छाएको छ। मादल, नेवर, झ्याली, कुरकुटी, बाँसुरी र मयूरको प्याकको सहायताले मयूर नाच प्रदर्शन गरिन्छ।

बाइसे, चौबिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजोस्वरुप जुम्लाबाट ल्याएकी भान्से ब्राह्मणको बिहेवारीपछि विर्तास्वरुप हल्चौरको माटो उपयुक्त मानी न्यौपाने थरका ब्राह्मणलाई ठुलो चौरमा हलो जोतेर दिएका कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरूको वंश वृक्ष किताबमा उल्लेख छ।

असोज २७, २०८१ सोमबार २२:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।