दशैँको टीका र जमरा लगाउन पाउँदा मक्ख पर्यटक

दशैँको टीका र जमरा लगाउन पाउँदा मक्ख पर्यटक

मुग्लिन (चितवन) : चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दशैँ मनाएका छन्। बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैँ मनाइरहेका छन्।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिएका थिए। उनले पर्यटकको सेवाका लागि दशैँका दिन पनि होटल खुला राखेको बताए। पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरू दङ्ग भएका छन्। फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले दशैँको टीका र जमरा लगाएका थिए। मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि सौराहा आएका थिए।

‘नेपाली नागरिक आत्मीय, मित्रवत् छन्, नेपाल सुन्दर छ’, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, ‘नेपालीहरूका साथमा दशैँ मनाउन पाउँदा खुसी छु।’    
नेदरल्याण्डस्देखि सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरूको पर्व दशैँ मनाउन पाउँदा औधी खुसी देखिन्थे।

‘मैले अरू साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाउन पाएँ’, उनले भने।
अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन्।

‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, उनले भने।

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरु भइसकेको छ। यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन्।

‘हामीले विगतमा पनि यसरी पर्यटकहरूलाई दशैँमा सँगै राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भने।

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झन्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए। पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले आकर्षित गर्ने गरेको छ।    

असोज २५, २०८१ शनिबार १८:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।