महिषासुर दैत्यको प्रतीक राँगोको बली दिएर मनाइयो खःमेय् जात्रा

महिषासुर दैत्यको प्रतीक राँगोको बली दिएर मनाइयो खःमेय् जात्रा

भक्तपुर : नवरात्रीको नवौँ दिनको राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राँगो जात्रा  शुक्रवार बेलुका सम्पन्न भएको छ ।

धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र उक्त राँगोलाई नवमी साँझ नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा गर्दै ब्रम्हायणी मन्दिर पुर्याएर वध गरी मनाएको हो।

महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को वध गरी जात्रा मनाउने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके रत्न बनमालाले बताए।

नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् अर्थात् राँगोलाई नवमीको साँझ तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीर भरी अबिर दलेर स्थानीयले नवदुर्गा द्यो छेँ (देवगृह)बाट लखेट्दै दत्तात्रय, च्याम्हसिंह हुँदै ब्रम्हायणी मन्दिरमा पुर्याई देवीलाई चढाएर जात्रा मनाइएको हो।

महानवमीको दिन राति नवदुर्गा देवगणलाई खम्येको रगत चढाई देवगण सिद्ध गरी विजयादशमीको दिन तलेजुको पायो (खड्ग) जात्रा गरी खम्येको टाउकोलाई नगर परिक्रमा गराउने परम्परा छ।

तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राँगोको वध गरिएको हो । वध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भिड लागेको थियो।

उक्त मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ।

असोज २४, २०८१ शुक्रबार २३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।