मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटक दुईदिनपछि भेटिइन्

मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटक दुईदिनपछि भेटिइन्

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि भेटिएकी छिन्।

असोज २२ गते राति हाइक्याम्पको होटेल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोमा गएपछि हराएकी थिइन्।

पर्यटक हराएको सूचनापछि खोजीमा जुटेको स्थानीयवासी, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसी गोठाला सहितको टोलीले शुक्रवार दिउँसो पर्यटकलाई मर्दीको मुहान कोलङ्गे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार बुधवार र बिहीबार भैँसी गोठका मालिक प्रसाद पौडेल र होटेल सञ्चालकसहितको टोलीले साँझसम्म खोजी गरे पनि काँडाघारी, सिस्नो अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थिएन।पर्यटकको खोजीका लागि पर्यटक प्रहरी सहितको टोलीले शुक्रवार बिहानदेखि खोजी पुनः सुरु गरेको थियो।

‘मर्दीको मुहानभन्दा केही तल ठाउँ ठाउँमा लडेको, जुत्ता लगाएको निशान देखेपछि सो निशान पछ्याउँदै ठुलो स्वरमा चिच्यायौ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनार नजिक पर्यटकलाई फेला पार्न सफल भयौँ’, वडाध्यक्ष क्षेत्रीले भने।

खोजी कार्यमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिथिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो।    

असोज २४, २०८१ शुक्रबार २३:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।