जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो

काठमाडौँ : तलेजु भवानीको दर्शन गराउने परम्परा  अनुसार शुक्रवार जीवित देवी कुमारीलाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइयो। तान्त्रिक र वैदिक विधिबाट पूजा गरिने तलेजु भवानीबाट शक्ति उपलब्ध गराउन शुक्रवार राति करिब १० बजे शुभ साइत पारेर कुमारीलाई दर्शन गराइएको हो।

कुमारी घरका व्यवस्थापक गौतम शाक्यले कुमारी घरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई दरबार परिसरमा पुर्याइएको जानकारी दिए। कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रा गरिएको थियो।    

कुमारीलाई दर्शन गराउन फूलपातीको दिन विशेष बाजागाजासहित देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो। हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।    

मन्दिरको मुख्य देवतालाई सर्वसाधारणले हेर्न तथा दर्शन गर्न पाइँदैन। तान्त्रिक रूपमा दीक्षित पुजारीलाई मात्रै तलेजु भवानीको दर्शन गर्न पाउने व्यवस्था छ।तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको मानिन्छ।

असोज २४, २०८१ शुक्रबार २३:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।