अर्थमन्त्री र यातायातमन्त्रीले निर्माण व्यवसायीलाई झुक्याए, दशैंअघि पनि दिएनन् भुक्तानी

अर्थमन्त्री र यातायातमन्त्रीले निर्माण व्यवसायीलाई झुक्याए, दशैंअघि पनि दिएनन् भुक्तानी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैंअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्। 

मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको बताए। 

'मैले दशैंअगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ। हाम्रो मन्त्रालयले आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ। हामीले पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौं। तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ। भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौं, उनले भने। 

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए। 

'राष्ट्रिय गौरवका आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भएपनि सरकारले व्यवसायीलाई ४५ अर्ब भुक्तानी गर्नुपर्ने छ, अहिलेसम्म १५ अर्ब मात्र भुक्तानी पाएका छौं। निर्माण सम्झौता भएका करिब छ खर्ब ५० करोडका आयोजनाको काम अगाडि कसरी बढाउने?, उनले सोधे। 

यसैबीच, गएको असार १५ मा अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरूको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका थिए। 

अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँगको छलफलमा उनले भनेका थिए, 'तपाईंहरूले भुक्तानी पाउनुहुनेछ। दशैं अगाडि नै हामी प्रयास गर्छौं संसदले पास गरेको बजेटका लागि चिन्ता गर्नुपर्दैन।' 

असोज २४, २०८१ शुक्रबार १५:२४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।