प्रवर्द्धनको अभावमा गुमनाम बन्यो ‘आदि मानव’को बङ्गारा भेटिएको दोभान

प्रवर्द्धनको अभावमा गुमनाम बन्यो ‘आदि मानव’को बङ्गारा भेटिएको दोभान

बुटवल : आदि मानव ‘रामापिथेकस’को बङ्गारा भेटिएको पाल्पाको ऐतिहासिक सिद्धबाबा (दोभान) क्षेत्र संरक्षण तथा प्रचार-प्रसारको अभावमा अस्तव्यस्त बनेको छ।

ऐतिहासिक महत्वको दुर्लभ मानव जीव रामापिथेकसको अवशेष फेला पर्दा समेत राज्यले संरक्षण र विकासमा चासो नदेखाएपछि सो क्षेत्र अहिले गुमनाम जस्तै बनेको हो।

सिद्धबाबा क्षेत्रमा एक करोड १० लाख वर्ष पुरानो ‘रामापिथेकस’ मानवको बङ्गारा फेला परेको थियो। रामापिथेकसको सबैभन्दा पुरानो अवशेषचाहिँ अफ्रिकाको केन्या र टर्कीमा फेला परेको थियो। रामापिथेकसको सबैभन्दा पुरानो अवशेष एक करोड ४० लाख वर्ष पुरानो भएको बताइन्छ।

अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीका डा. जेएच हट्चिसन सहित नेपालको त्रिभुवन विश्वविद्यालयका अन्वेषणकर्ताद्वारा सन् १९७९ देखि १९८२ सम्म गरिएको अन्वेषणअनुसार एक करोड दश लाख वर्ष पुरानो रामापिथेकसको बङ्गारा (दाँत) सो क्षेत्रमा भेटिएको थियो।

यो जीवाषशेषको पहिचानपछि सन् २०१३ मा ‘नेपालका जीवावशेष’ भन्ने टिकटमाला जारी गरिएको छ। रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउ तट नजिकै रामापिथेकस पार्क निर्माण गरी प्रतीक स्थापना गरिएको छ।

साथै पाल्पा जिल्ला र रूपन्देहीको सङ्गम मानिने सिद्धबाबा धामका दुवै समितिको पहलमा तल्लो सिद्धबाबा धाममा ‘रामापिथेकस वनस्पति उद्यान’ निर्माणको कार्य भएको छ।

रामापिथेकश क्षेत्रलाई मानव उत्पत्तिको अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भए पनि राज्यले यसमा ध्यान दिन नसकेको पर्यटनविद् निर्मल श्रेष्ठ बताए।

‘यसको प्रयोग गरेर पर्यटन आकर्षित गर्नुपर्नेमा सरोकारवाला निकायको ध्यान पुगेको छैन। यसका लागि सरकारी निकायले चासो दिनुपर्छ’, उनले भने।

पार्कमा रामापिथेकसको सांकेतिक सालिक निर्माण भए पनि आदि मानवबारे पूर्ण जानकारी नहुँदा अध्ययन र खोजका लागि आउनेहरू अलमलमा पर्ने गरेको उनको भनाइ छ।

लुम्बिनीबाट पोखरा भ्रमण गर्न जाने पर्यटक सिद्धार्थ राजमार्ग हुँदै जाने हुँदा सोही राजमार्गमा पर्ने उक्त क्षेत्र ती पर्यटकका लागि अर्को गन्तव्य हुनसक्छ। तर, यसमा स्थानीय सरकार तिनाउ गाउँपालिकाले समेत ध्यान दिन नसकेको पर्यटन व्यवसायीको आरोप छ।

गुरुयोजना बन्यो, काम पूरा भएन
रामापिथेकसको प्रचारका लागि केही प्रयास भए पनि सार्थक देखिएका छैनन्। यसको इतिहासलाई प्रचारप्रसार गर्ने कार्य भएकै छैन। त्यसकै नाममा पार्क निर्माण गर्न मात्रै स्थानीय सरकार र सरोकारावालाको ध्यान छ। यस क्षेत्रमा तीन वटा गुरुयोजना बनाइए पनि सोअनुसार काम भएको छैन।

रामापिथेकशकै प्रचारका लागि रुपन्देही र पाल्पाको सिमानामा ‘रामापिथेकस बोटानिकल गार्डेन’ निर्माण गर्ने भनिए पनि यो पूरा भएको छैन। बुटवल उपमहानगरपालिका–५ र पाल्पाको दोभान गाविसमा रहेको सिद्धबाबा धार्मिक वन क्षेत्रलाई रामापिथेकश वोटानिकल गार्डेनका रूपमा विकास गर्ने गुरुयोजना बनाइएको थियो।

बुटवलको सिरानमा रहेको सिद्धबाबा क्षेत्रमा मानव पूर्खाको रूपमा मानिदै आएको रामापिथेकसको बंगारा फेला परेको क्षेत्रमा रहेका जडीबुटी, जनावर र रुख विरुवा, जलचर र सम्पदाको संरक्षण गर्ने गरि ‘वनस्पति पार्क’ बनाउने भनिए पनि काम पूरा भएको छैन।

राष्ट्रिपति चुरे तराई मधेश विकास कार्यक्रमले अन्तर्गतको बजेटबाट बनस्पति विभागले १५ करोड ९९ लाखको अनुमानमा गुरुयोजना बनाएको थियो। पञ्चवर्षीय योजना भए पनि यसबाट दुई करोड खर्च भयो। ०७२ दोखि ०७८ सम्म केही काम भए पनि उपभोत्ता समिति सक्रिय नहुँदा अहिले काम अवरुद्ध बनेको सिद्धबाबाधाम विकास समितिका पूर्व अध्यक्ष लकुश कुमार श्रेष्ठले बताए।

रामापिथेकको बंगारा भेटिएको क्षेत्रमा बनस्पतति उद्यान, बाटो, पार्क र बनभोज स्थल बनाउने योजना गुरुयोजनामा छ। गुरुयोजना अनुसार पार्क बनेको छ भने कदमबासमा केही बनभोज स्थल र रामापिथेकशको बंगारा भेटिएको पावर हाउसदेखि माथि केही संरक्षणको काम भए पनि अरु काम हुन सकेका छैनन्।

विश्वमै ऐतिहासिक मानिएको मानव विकास क्रमको संकेत दिने प्राग ऐतिहासिक रामापिथेकशको बंगारा भेटिएको सो क्षेत्रको योजनाबद्ध विकास भएमा समग्र मुलुककै पर्यटन प्रर्वर्द्धनमा टेवा पुर्याउन सकिने उनले बताए।

स्थानीय सरकारको सिफारिसमा ३ करोड ४२ लाखको अनुमानमा चिडियाखोलाको पार्कलाई आर्कषक केन्द्र बनाउने गरी समुन्नत्ति नेपालले गुरुयोजना बनाए पनि यो गुरूयोजना पनि पूरा भएको छैन।

नुवाकोटसम्म हाइकिङको मार्ग बनाउने, गोलापार्कदेखि दोभानसम्म विकास गर्ने लगायतका काम गर्न बाँकी छ भने जल बाटिका र संग्रालय बनाउने काम गुरुयोजनामा भए पनि निर्माण हुन सकेका छैनन्। गार्डेनमा बोटिङ, तिनाउमा पाइने सबैभन्दा सानो प्रजातीको जेब्रा फिस लगायतका लोपोन्मुख जीवजन्तु प्रजाती, जलचर, र बनस्पतिको पनि उचित र बास्तविक संरक्षण गर्ने योजना भए पनि यी पूरा भएका छैनन्।

भारतको कोलकत्ताको गार्डेनको मोडलमा नै सिद्धबाबा क्षेत्रमा अत्याधुनिक शैलीको बोटानिकल गार्डेनको काम २० प्रतिशत पनि सम्पन्न भएको छैन।

लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउने गुरुयोजना बनाएको छ। आठ करोड ३८ लाखको अनुमानित लागत रहेको गुरुयोजना बनेको भए पनि यसको काम भएको छैन। यो बजेटबाट रामापिथेकशको बंगारा भेटिएको स्थानमा मुख्य क्षेत्रमा खर्च गर्ने गरी गुरुयोजना बनाइएको थियो। भुतखोला (सिद्धसरोबर) देखि गोलपार्क सम्मको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

यहाँका लागि भनेर बनेका सबै गुरुयोजना पूरा भएमा इ.सं. १९८३ मा फेला परेको रामापिथेकसको अवसेष (दाहिने बंगारा) लाई आधार बनाएर खोज अनुसन्धान पनि गर्न सहज हुने अनुसन्धानकर्ताको विश्वास छ। रामापिथेकस पार्क २०६५ सालमा पहिरोले बगाएको थियो। त्यसपछि रामापिथेकसको नाम निसानानै हराएपछि पाल्पाको दोभानमा रामापिथेकसको पार्क बनेको छ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले रामापिथेकशको बंगारा भेटिएको क्षेत्रको संरक्षण र प्रवर्द्धनमा गाउँपालिका लागेको बताए। उनले प्रदेश र संघ सरकार संगको सहकार्यमा पार्क निर्माण, संग्रहालय बनाउने गरी योजना बनाएको बताए।

असोज २३, २०८१ बिहीबार ०९:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।