विपद्बाट क्षतिग्रस्त संरचना बनाउन दुई अर्ब लाग्ने, उपत्यकाका नदीमा थुपारेको माटो निकाल्न मात्रै १२ करोड लाग्ने

विपद्बाट क्षतिग्रस्त संरचना बनाउन दुई अर्ब लाग्ने, उपत्यकाका नदीमा थुपारेको माटो निकाल्न मात्रै १२ करोड लाग्ने

काठमाडौं : यही असोज ११ देखिको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ। 

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनर्निर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। 

मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्याएको जानकारी दिइन्। 

'स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झोलुङ्गे पुल पूर्णरूपमा क्षति पुगेको छ। यी संरचना पूर्णरूपमा निर्माण तथा सुधार गर्न एक अर्ब ७७ करोड चार लाख रूपैयाँ लागत अनुमान गरिएको छ, उनले भनिन्। 

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख लागत अनुमान गरिएको बताइन्। 

'अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ। यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ, उनले भनिन्। 

उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोविखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। 

यी संरचना बनाउन तथा सुधार गर्न ११ करोड ४६ लाख लाग्ने  बताइएको छ।  

असोज २२, २०८१ बुधबार २०:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।