निर्वाचन परिमाण आएको केही घन्टामै काश्मिरमा एक भारतीय सैनिकको अपहरणपछि हत्या गरियो

निर्वाचन परिमाण आएको केही घन्टामै काश्मिरमा एक भारतीय सैनिकको अपहरणपछि हत्या गरियो

एजेन्सी : भारतको काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ।

भारत प्रशासित काश्मिरमा एक दशकपछि पहिलो पटक भएको विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि प्रहरीले एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको जनाएको छ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ।

अनन्तनाग जिल्लामा मङ्गलबार साँझ दुई सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए।

'एक जना सैनिक भाग्न सफल भए। उनलाई दुई वटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,' नाम नबताउने शर्तमा ती अधिकारीले भने।

सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरू गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का एक सैनिकको शव जङ्गलमा फेला परेको थियो।

सन् १९८९ यता दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा पाँच लाख भारतीय सेना तैनाथ छन्।

भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ।

आणविक शक्ति सम्पन्न यी छिमेकीले सन् १९४७ देखि यस क्षेत्रको नियन्त्रणका लागि कैयौँ पटक लडाइँ गरेका छन्।  

असोज २२, २०८१ बुधबार १६:०६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।