काठमाडौं उपत्यकाबाट बाहिरियो मनसुन, कोशी प्रदेशमा अझै सक्रिय

काठमाडौं उपत्यकाबाट बाहिरियो मनसुन, कोशी प्रदेशमा अझै सक्रिय

काठमाडौं : यस वर्षको मनसुन आज काठमाडौं उपत्यकाबाट पनि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौं उपत्यकाबाट पनि बाहिरिएको छ। 

बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भू-भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।

हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले राससलाई जानकारी दिए। 

यता, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

आज कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। 

नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट असोज २० मा यस वर्षको मनसुन बहिर्गमन भएको थियो। 

यस वर्षको मनसुन गत जेठ २८ मा नेपालमा भित्रिएको थियो। यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ। 

असोज २१, २०८१ मंगलबार २१:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।