हमास नेता याह्या सिनवार जीवित रहेको दाबी

हमास नेता याह्या सिनवार जीवित रहेको दाबी

एजेन्सी : इजरायली वेबसाइट द जेरुसेलम पोस्टले सोमबार हमास नेता याह्या सिनवार जीवित रहेको दाबी गरेको छ।

उनले कतारसँग गोप्य सम्पर्क राखेको वेबसाइटमा दाबी गरिए पनि एक वरिष्ठ कतारी कूटनीतिज्ञले यसलाई गलत भनेका छन्।

वार्ता हमासका वरिष्ठ नेता खलील अल-हयाह मार्फत भएको उनको भनाइ छ।

इजरायलको मिलिटरी इन्टेलिजेन्सले केही समयअघि सिनवारको मृत्यु भएको दाबी गरेको थियो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पनि सेप्टेम्बर २१ मा गाजाको एउटा विद्यालयमा भएको आक्रमणमा सिनवारसहित २२ जनाको मृत्यु भएको जनाएको थियो।

त्यसयता इजरायली सेनाले गाजामा भएको आक्रमणमा सिनवारको हत्याको अनुसन्धान गरिरहेको थियो। गत अक्टोबर ७ मा भएको हमलापछि सिनवार एकपटक मात्रै देखिएको छ।

आईडीएफका अनुसार उनी सुरुङ पार गर्दै थिए। यस अवधिमा उनी धेरै इजरायली बन्धकहरूसँग हिँडिरहेका थिए।

इजरायली मिडिया हारेट्जका अनुसार इजरायलले सिनवार लुकेको भनिएको गाजाका सुरुङहरूमा आक्रमण गरेको छ। त्यहाँबाट अहिलेसम्म सिनवारको मृत्युको सम्बन्धमा कुनै सुराग फेला परेको छैन।

सिनवार अचानक बेपत्ता भएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटक-पटक सिनवार केही समय बेपत्ता भएर युद्धविराम सम्झौता वा अन्य सन्देश लिएर फर्किने गरेका थिए।

असोज २१, २०८१ मंगलबार ०८:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।