शहरी रुपान्तरणमा युवा सहभागितालाई जोड

शहरी रुपान्तरणमा युवा सहभागितालाई जोड

काठमाडौं : ‘कर्मशील युवा : समुन्नत शहर’ भन्ने नाराका साथ विश्व बसोबास दिवस मनाइएको छ।

दिवसको अवसरमा शहरी विकास मन्त्रालयसँग समन्वयमा शहरी विकास तथा भवन निर्माण विभाग, युएन-ह्याबिट्याट, नेपाल राष्ट्रिय शहरी मञ्चसँगै यस क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले दिवसको अवसरमा कार्याशाला गोष्ठी र राष्ट्रिय शहरी मञ्चको आयोजना गरेका छन्।

कार्यक्रमको औपचारिक उद्घाटन चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक स्थानीय समीक्षा प्रतिवेदनको विमोचनसँगै गरिएको थियो। प्रतिवेदनले स्थानीय तहमा दिगो विकास लक्ष्यहरूको प्रगति, संस्थागत स्रोत र कार्यान्वयनको अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिँदै उक्त लक्ष्यहरू प्राप्त गर्न स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक क्रियाकलापको महत्त्वलाई उजागर गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका सहभागीहरुले नेपालमा दिगो शहरीकरणका लागि युवाहरूलाई शहरी विकासका काममा समावेश गर्नु पर्नेमा जोड दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवाहरू नै शहरको भविष्य भएकाले उनीहरूलाई शहरी योजनामा सक्रिय हिसाबले संलग्न गराउनु पर्नेमा जोड दिए। शहरी विकासमा युवाको सङ्लग्नता बढाउन सरकारले पहल थाल्ने उनको प्रतिबद्धता छ।

जनसङ्ख्याको गतिशील र शक्तिशाली हिस्सा युवालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र शहरी विकासमा पनि समाहित गर्नु पर्नेमा उनले जोड दिए।

उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा-२०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादक मूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा शहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले त्यसमा सरकार क्रियाशील रहेको उल्लेख गरे।

असोज २१, २०८१ मंगलबार ०८:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।