चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्नेगरी न्याम्समार्फत शिक्षक दरबन्दी थप्ने निर्णय

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्नेगरी न्याम्समार्फत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्री पौडेलले गत साउन २७ मा सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए।
  
यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

‘सरकारी कलेजमा पोस्ट ग्रयाजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने।

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रयाजुएट अध्ययन गरिरहेका छन्। 

बैठकले यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाईसमेत आबद्धता दिने निर्णय गरेको छ। ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ।

यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अथोप्डिक अस्पतालका लागिसमेत पोस्ट ग्रयाजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।

नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्याम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए।

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ। 

प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको छ। 

असोज १९, २०८१ आइतबार २०:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।