सडकबाट नभए हेलिकप्टरबाट भएपनि राहत पुर्याउन गृहमन्त्रीको निर्देशन

सडकबाट नभए हेलिकप्टरबाट भएपनि राहत पुर्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन्। 

आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासो र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘राजनीतिक दलहरू हिजो पनि विपदमा एकजुट भएर सामना गरेको इतिहास छ। अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’

उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट संभव नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पुर्याउन निर्देशन दिए।

ललितपुरमा विपदमा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

मन्त्री लेखकले पूर्णरूपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रहसमेत गरे।

उनले भने, ‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस्।’

असोज १९, २०८१ आइतबार १७:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।