माफी मागेपछि ७ दिनमै छुटे ‘सिधाकुरा’का सम्पादक र प्रकाशक, अडियो रेकर्ड गर्ने तिमल्सिनाले ६ महिनै जेल बस्नुपर्ने

माफी मागेपछि ७ दिनमै छुटे ‘सिधाकुरा’का सम्पादक र प्रकाशक, अडियो रेकर्ड गर्ने तिमल्सिनाले ६ महिनै जेल बस्नुपर्ने

काठमाडौं : सर्वोच्च अदालतको मानहानि मुद्दामा कैद सजाय सुनाइएका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भए। 

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएसँगै सिधाकुराको न्युजरूम पुगेका छन्।

सर्वोच्च अदालतको नौ सदस्यीय वृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरू दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो। तर, उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो।

त्यस सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधाकुराविरूद्ध निवेदन दिएका थिए। 

सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ। प्रकाशक र सम्पादकलाई ससर्त आदेश भएकाले सात दिनमा रिहा हुँदा सूचना दिने तिमिल्सिनाले भने ६ महिना पूरै जेल सजाय भोग्नुपर्ने भएको हो। 

सर्वोच्चले तिमिल्सिनाको हकमा निजले नै उल्लिखित झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि अन्य प्रत्यर्थीहरूलाई दिएको देखिँदा निजलाई उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्रा अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने ठहर गरेको थियो।

'निजविरूद्ध यस अदालतमा चलेको प्रस्तुत मुद्दाको कारबाईको प्रक्रियामासमेत निजमा कुनै पश्चातापबोध र क्षमायाचनाको भावसमेत नदेखिएको हुँदा ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्नु' फैसलामा भनिएको छ।

असोज १९, २०८१ आइतबार १६:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।