इजरायली प्रधानमन्त्री नेतन्याहुले भने- फ्रान्सेली राष्ट्रपतिलाई लाज लाग्नुपर्छ

इजरायली प्रधानमन्त्री नेतन्याहुले भने- फ्रान्सेली राष्ट्रपतिलाई लाज लाग्नुपर्छ

एजेन्सी : लेबनानमा इजरायलको चलिरहेको ग्राउण्ड अपरेशनको बीचमा, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनमाथि कडा टिप्पणी गरेका छन्।

नेतान्याहुले म्याक्रोनले लाज मान्नुपर्ने बताउँदै इजरायलले उनीहरूको समर्थनविना पनि जित्ने दाबी गरे। इजरायलले आतंक फैलाउने हिजबुल्लाहजस्ता सेनासँग लडिरहेको भन्दै उनले सबै सभ्य देशहरू इजरायलको समर्थनमा दृढताका साथ खडा हुनुपर्ने बताए।

यद्यपि राष्ट्रपति म्याक्रोन र अन्य पश्चिमी नेताहरूले इजरायललाई हतियार दिन रोक्नुपर्ने माग गरिरहेका बेला नेतान्याहुले उनीमाथि लाज लाग्नुपर्ने बताएका हुन्।

नेतान्याहुको यस्तो बयानपछि म्याक्रोनको कार्यालयले फ्रान्स इजरायलको कट्टर मित्र भएको भन्दै आफूहरूले इजरायलको सुरक्षालाई समर्थन गर्ने बतायो।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि इरान वा यसका समर्थकहरूले इजरायलमाथि आक्रमण गरे फ्रान्स सधैं इजरायलको साथमा रहनेछ।’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अक्टोबर ५ मा इजरायललाई गाजामा लड्न हतियार पठाउन प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए।

असोज १९, २०८१ आइतबार ०९:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।