हवाई उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै अनसनरत सिलवालले अनसन अन्त्य गरे

हवाई उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै अनसनरत सिलवालले अनसन अन्त्य गरे

काठमाडौं : विगत लामो समयदेखि आपतकालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दिपक सिलवालले अनसन अन्त्य गरेका छन्। 

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरूबीच सहमति भएपछि सिलवालले अनसन तोडे।   

ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको माग राखी यही भदौ २१ देखि तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-५ का ४२ वर्षीय दीपक सिलवाल आमरण अनसनमा थिए। 

त्यस छलफलमा मानव सेवाको पवित्र प्रयासलाई उच्च सराहनासहित धन्यवाद व्यक्त गर्दै जारी आमरण अनसनलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराइएको छ। 

सरकार गर्भवती तथा सुत्केरी महिलाहरू विपद् एवं आकस्मिक घटनाहरूका कारण घाइते भई सघन उपचार आवश्यक भएका (तत्काल सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागी ज्यान जानसक्ने अवस्था रहेका) हरूको आपतकालीन हवाई उद्धार गर्नुपर्ने विषयमा संवेदनशील रहेको पनि जानकारी गराइएको छ। 

यसको साथै, छलफलमा हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ बमोजिम गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार भइरहेको, गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरूको आवश्यकता अनुसार हवाई उद्धार भइरहेको, प्रदेश सरकार तथा स्थानीय तहहरुबाटसमेत आपतकालीन उद्धारको समन्वय भइरहेको समीक्षा गरिएको छ। 
 
काठमाडौंका अतिरिक्त पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वी क्षेत्रमा इटहरीमा देश नेपाली सेनाको हेलिकप्टर आपतकालीन उद्धारमा प्राथमिकताका साथ उपयोग गर्ने व्यवस्था मिलाइएकोसमेत समीक्षा गरियो।  

असोज १८, २०८१ शनिबार २१:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।