लमजुङ जान लागेको हाइलक्स नुवाकोटमा खस्यो, एक जनाको मृत्यु

लमजुङ जान लागेको हाइलक्स नुवाकोटमा खस्यो, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

मृत्यु हुनेमा काठमाडौंकाे तारेकेश्वर नगरपालिकास्थित मनमैजुका ५८ उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अुनसार खनाललाई विहान १० बजेर १० मिनेटमा त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो।

यस्तै घाइतेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, सोही नगरपालिकास्थित मनमैजुका ५२ वर्षीय रामरशण अधिकारी,  ४६ वर्षीया हरिकला खनाल, ​​​​​​५१ वर्षीया गायत्री खनाल र नागार्जुन नगरपालिका-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा रहेका छन्।

विपुल हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक भारतीले उकेरासँग भने, ‘पाँच जनालाई ग्रान्डी अस्पतालले रिसिभ गरेको छ।’

चार पुरुष र एक महिला गरी छ जना सवार गाडी सडकबाट अन्दाजी ५० मिटर तल ओडारे खोल्चामा खसेको हो।

असोज १० देखि १३ गतेसम्म अविरलको वर्षापछि ठाउँ–ठाउँमा पहिरोले नागढु्ङ्गाको बाटो अवरुद्ध हुन थालेपछि अधिकांशले नुवाकोटको टोखा-छहरे-गल्छी सडक प्रयोग गर्ने गरेका छन्।

असोज १८, २०८१ शनिबार १०:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।