काठमाडौंमा २२ वर्षयताकै सर्वाधिक वर्षा

काठमाडौंमा २२ वर्षयताकै सर्वाधिक वर्षा

काठमाडौं : काठमाडौं उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ। आज बिहान वर्षा मापन सुरू भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए। यो मापन सुरू भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए। 

यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। 

मौसमविद् लामिछानेले काठमाडौं उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि बताए। 

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ। ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। 

आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौंमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ। 

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्। 

काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्। आज साँझबाट भने मौसममा केही सुधार आएको छ।  

असोज ११, २०८१ शनिबार २१:४८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।