बेरुतमा भएको आक्रमणमा हिजबुल्लाह प्रमुखकी छोरी मारिएको इजरायली दाबी, नसरल्लाह सम्पर्कविहीन

बेरुतमा भएको आक्रमणमा हिजबुल्लाह प्रमुखकी छोरी मारिएको इजरायली दाबी, नसरल्लाह सम्पर्कविहीन

एजेन्सी : प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेको करिब एक घण्टापछि इजरायलले शुक्रबार बेरुतस्थित हिजबुल्लाहको मुख्यालयमा प्रहार गरेको मिसाइलका कारण छ जनाको मृत्यु भएको छ। ९० भन्दा बढी घाइते भएका छन्।

इजरायली सञ्चारमाध्यम च्यानल १२ ले हिजबुल्लाह प्रमुख हसन नसरल्लाहकी छोरी जैनाब यस हमलामा मारिएको दाबी गरेको छ। यद्यपि हिजबुल्लाहले जैनबको मृत्युको पुष्टि गरेको छैन।

पाकिस्तानी पत्रकार अहमद कुरेशीले सामाजिक सञ्जालमा इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव फेला परेको लेखेका छन्। उनले लेबनानी अधिकारीहरूले यसको पुष्टि गरेको पनि उल्लेख गरेका छन्।

यसैबीच, इजरायली आक्रमणपछि हिजबुल्लाह प्रमुख नसरल्लाहसँग सम्पर्क हुन नसकेको एक लेबनानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। आक्रमणको केही घण्टा बितिसक्दा पनि हिजबुल्लाहले नसरल्लाह ठिक रहेको विज्ञप्ति निकालेको छैन।

एक इजरायली अधिकारीलाई उद्धृद गर्दै टाइम्स अफ इजरायलले लेखेको छ- ‘इजरायलले आक्रमण गरेको ठाउँमा हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठक गर्थे।’

आक्रमणको समयमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको उपस्थितिको बारेमा कुनै जानकारी छैन। यद्यपि, हिजबुल्लाहको नजिकको स्रोतले यसअघि नसरल्लाह जीवित रहेको रोयटर्सलाई बताएको थियो।

यसअघि इरानको तस्निम न्यूज एजेन्सीले पनि उनीहरू सुरक्षित रहेको बताएको थियो। यसैबीच, इजरायली सेनाले हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र सहायक हुसेन अहमद इस्माइल आफ्नो आक्रमणमा मारिएको बताएको छ।

असोज ११, २०८१ शनिबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।