पाँच घण्टा खोलेपछि एक मिटर घट्यो कुलेखानीको पानी

पाँच घण्टा खोलेपछि एक मिटर घट्यो कुलेखानीको पानी

बागमती : कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ।

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान पाँच बजे ड्यामको दुई ढोका खोलिएको थियो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले विहान ११ बजे जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए।

उनका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएरको थियो।

पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो।

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए।

वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उनले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले ड्यामका थप ढोका अझै खोल्नुपर्ने अवस्था देखिनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज ११, २०८१ शनिबार ११:४६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।