मनाइयो संविधान दिवस

मनाइयो संविधान दिवस

काठमाडौं : संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ।

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन्।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन्। शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो।

संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना गरेका छन्। साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ ‘नेशनल डे कन्सर्ट’ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ।

यी सबै कार्यक्रमहरूमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन्।

सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ।

असोज २, २०८१ बिहीबार १०:५३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।