सधैं कति समानुपातिकबाट ल्याउने? त्यो समस्या चाहिँ छ : देउवा

सधैं कति समानुपातिकबाट ल्याउने? त्यो समस्या चाहिँ छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न नसकिएको बताएका छन्। 

मंगलबार पार्टी कार्यालयमा आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझै पनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरू कानूनी रुपमा समाधान भएता पनि अझै पनि व्यवहारमा भने लागू हुन नसकेको बताए। 

उनले भने, ‘एउटा कुरा स्पष्ट छ। नेपाल विभिन्न जातजातिले बनेको देश हो यो। तर, अझै पनि विभाजन छ। इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न सकिएको छैन। त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरू अझै पनि कानूनी रुपमा समाधान भएतापनि व्यवहारमा भने लागू भएको छैन।’ 

उनले प्रजातन्त्रको लागि विद्यार्थीकालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनै पनि हालतमा प्रजातन्त्रको खिलापको काम नगर्ने प्रतिवद्धता जनाए। 

प्रजातन्त्र अझ कसरी मजबुत बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ। 

उनले भने, ‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। विद्यार्थी कालदेखि नै जेलनेल सबै कुराहरू भोगेको पार्टी हो। प्रजातन्त्रको खिलापको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन। यसलाई अझ कसरी मजबुत बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आवश्यक छ।’

सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनै पनि हालतमा नहट्ने स्पष्ट पारे।

उनले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको दाबी गरे। 

उनले भने, ‘प्रदेश संरचना बनिसकेको छ। त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन। यसलाई हटाउन सकिने स्थिति पनि छैन। प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो। सधैं कति समानुपातिकबाट ल्याउने? त्यो समस्या चाहिँ छ। समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। जबसम्म नेपालमा आफैं चुनाव जितेर आउने बाताबरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ।’ 

भदौ ३१, २०८१ मंगलबार १८:१७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।