मन्दिर दर्शनको लागि काठमाडौंबाट नुवाकोट पुगेकी अधिकारीलाई खोलाले बगायो, आज शव भेटियो

मन्दिर दर्शनको लागि काठमाडौंबाट नुवाकोट पुगेकी अधिकारीलाई खोलाले बगायो, आज शव भेटियो

काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका-३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो। 

७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। 

उनका अनुसार स्थानीयको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर-६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो। 

मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर पुगेकी अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्। 

भदौ ३१, २०८१ मंगलबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।