छानविन समितिले कारबाहीको सिफारिस गरिसक्दा समेत रवि भन्छन्- ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो’

छानविन समितिले कारबाहीको सिफारिस गरिसक्दा समेत रवि भन्छन्- ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो’

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले कारबाहीको सिफारिस गर्दा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए।

उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ।’

यसका साथै, उनले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाउँमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए।

उनले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो। मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो। लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुँदैन। त्यसकारण आएका कुरालाई एमडीका रूपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ। तर, मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग छैन भनेर प्रमाणित गरियो। रवि लामिछानेसँग जोडेर लाखौं सहकारी पीडितमाथि पाप भएको छ। पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन। तर, आज विषय म हुनुपर्ने थिएन।’

सोमबार प्रतिनिधि सभामा पेश गरिएको सहकारी संस्था छानबिन समितिको प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न देखिएको भन्दै लामिछाने लगायत चार जना सञ्चालकलाई कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्न भनिएको छ।

भदौ ३०, २०८१ सोमबार १८:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।