५ लाख खर्चेर तिलोत्तमामा सर्प महोत्सव हुँदै

५ लाख खर्चेर तिलोत्तमामा सर्प महोत्सव हुँदै

बुटवल : रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ। आगामी असोज १ र २ मा तिलोत्तमा स्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा सर्प महोत्सव हुन लागेको हो। 

मानव र सर्पबीच सहअस्तित्व प्रबर्द्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिए।

२ दिनसम्म चल्ने महोत्सव सर्पको अवलोकन, मानव सर्प द्वन्द्व न्यूनीकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्वमा केन्द्रित हुनेछ।
 
करिब ५ लाख खर्च अनुमान गरिएको महोत्सवमा फोटो प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शन, विभिन्न सचेतनाका स्टल, सर्प संग्राहालय नमुनाको प्रदर्शन, सांस्कृतिक नृत्य प्रदर्शन, कला प्रदर्शनी, सर्प समाउने र उद्धार गर्ने तरिकाको प्रदर्शन गरिने उनले बताए।

महोत्सवमा गोमन र करेत दुई विषालु सर्प प्रदर्शनीमा राखिनेछ भने पाईथन र धामन सर्प पनि महोत्सवमा प्रदर्शनमा राखिनेछ। 

महोत्सवको स्थानीय आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र रहेको छ।

तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सबै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बताए।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले सर्पबाट बच्च र सर्पलाई बचाउने दुवै उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए। 

भदौ ३०, २०८१ सोमबार १४:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।