माओवादीले संसद अवरोध नगर्ने, सांसदले बस्नेतले भने 'योगेश भट्टराईको अभिव्यक्ति संविधान विपरीत'

माओवादीले संसद अवरोध नगर्ने, सांसदले बस्नेतले भने 'योगेश भट्टराईको अभिव्यक्ति संविधान विपरीत'

काठमाडौं : माओवादी केन्द्रले एमालेका सचिव योगेश भट्टराईले 'जनयुद्ध'लाई 'हिंसा' भनिएकोप्रति खण्डन गर्दै त्यस अभिव्यक्ति विस्तृत शान्ति सम्झौता र संविधान विपरीत बताएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले भट्टराईको जनयुद्धलाई विस्तृत शान्ति सम्झौता, संविधानले सशस्त्र संघर्ष भनेर चिन्ने भन्दै भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाए।

‘जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोसिस भए, यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाको दृष्टिले अनुपयुक्त छ,’ उनले भने। 

सांसद बस्नेतले प्रयोग गरेको हिंसा शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गरेको भन्दै थपे, 'सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्द अपमानजनक मात्रै होइन, यसले जनताको त्याग र बलिदानलाई अपमानित गरेको छ।'

सांसदले सभामुखको रूलिङलाई समेत नमानेको भन्दै संसद्मा निष्पक्ष भूमिका देखाउन सभामुख देवराज घिमिरेलाई आग्रह समेत गरे।  

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफ्ना कुरा राखेसँगै आजको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिएको छ। 

आजकै बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यसूची छ, माओवादीले त्यसलाई पनि अवरोध नगर्ने भएको हो।

भदौ ३०, २०८१ सोमबार १३:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।