मनसुन झन सक्रिय : बागमतीसहित पाँच प्रदेशमा हुनेछ भारी वर्षा

मनसुन झन सक्रिय : बागमतीसहित पाँच प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं : देशका केही भू-भागमा आज पनि भारी वर्षा हुने भएको छ। मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। 

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। 

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास रहेको छ। 

देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको विभागले बताएको छ। जसका कारण मनसुन थप सक्रिय भएको हो। 

भदौ ३०, २०८१ सोमबार ०७:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।