एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता, ८ अर्ब ४० करोड बिगो उठ्यो

एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता, ८ अर्ब ४० करोड बिगो उठ्यो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको छ।

आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले गत आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए। 

प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरू बापत एक हजार पाँच सय ४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो उठाएको छ। 

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा दर्ता भएका दुई सय एक वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८ वटा, घुस-रिसवतसँग सम्बन्धित ४८ वटा, झुटा-नक्कली शैक्षिक योग्यताको नकली प्रमाणपत्रसम्बन्धी ३४ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३३ वटा, राजस्व चुहावटसम्बन्धी १३ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा र विविध विषयका ४ वटा छन्। उल्लेखित आरोपहरुबाट कूल १५४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो मागदाबी लिइएको छ।’

उनका अनुसार सबैभन्दा बढि उजुरी परेका मन्त्रालयहरू भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय छन्।
 
उनले भने, ‘प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तहसमेत) सँग सम्बन्धित ३८.९१ प्रतिशत रहेका छन्। त्यसपश्चात, कमशः शिक्षा (स्थानीय तहसमेत) १५.७९ प्रतिशत, गैरकानुनी सम्पति आर्जन ६.९८ प्रतिशत, भूमि प्रशासन ६.४९ प्रतिशत, नकली शैक्षिक प्रमाणपत्र ४.७१ प्रतिशत, वन तथा वातावरण ३.८२ प्रतिशत स्वास्थ्य तथा जनसंख्या ३.६८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात २.६१ प्रतिशत, गृह प्रशासन ३.५२ प्रतिशत, अर्थ २.१३ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ २.१० प्रतिशत खानेपानी तथा शहरी विकास १.६१ प्रतिशत र अन्य निकाय-क्षेत्रसँग सम्बन्धित उजुरीहरू १.६४ प्रतिशत छन्।’ 

भदौ २९, २०८१ आइतबार २१:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।