कांग्रेसले २८ महिनापछि स्थानीय तह निर्वाचनको समीक्षा गर्न थाल्यो

कांग्रेसले २८ महिनापछि स्थानीय तह निर्वाचनको समीक्षा गर्न थाल्यो

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापछि निर्वाचनको समीक्षा सुरू गरेको छ। कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाइका कारण विसं २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा यही भदौ अन्तिमबाट सुरू गर्यो। 

पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौँडाबाट सुरू गरेको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए। 

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू एवं उम्मेदवारसहित  निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको थियो।

त्यस अवसरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुत बनाउँदै समग्र जनताको हितमा काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।  

उनले समग्र राजनीतिक विषयका साथै जनप्रतिनिधि र आम जनताबीच कसरी सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरे। 

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसमा आवद्ध हरेक नेता, कार्यकर्ताले जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए।  

भदौ २९, २०८१ आइतबार २०:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।