ओलीलाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै हो : प्रचण्ड

ओलीलाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै हो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गरेर गम्भीर गल्ती गरेको बताएका छन्। 

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीलाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै भएको बताए। 

‘दुईतिहाईको सरकारको नेतृत्व गरेको समयमा संविधान च्यात्न खोज्ने ओलीलाई अब सुध्रिए कि, भनेर मैले दोस्रो पटक विश्वास गर्दै उनको समर्थनमा प्रधानमन्त्री बने, तर ओली सुध्रिनु त कता हो कता, उनीजस्तो अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही रहेनछ,’ उनले भने। 

प्रचण्डले दुनियाँमा कतै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने काम नेपालमा भएको बताए। 

भारत र अमेरिका लगायतका देशको उदाहरण दिँदै प्रचण्डले अप्राकृतिक गठबन्धनबाट बनेको सरकार धेरै समय नजाने टिप्पणी गरे। 

सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने भन्दै उनले ८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता जनाए।

'माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ। सत्ताको खेलमा लाग्दैन', उनले भने। 

जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मूलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उनको भनाई छ। 

‘उहाँहरूको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरूले ल्याएको भन्न सकिन्थ्यो’, प्रचण्डले भने, ‘उहाँहरू नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनु भएको छ। उहाँहरूको अस्तित्व चै माओवादीले जोगाइदिएको हो।’

कार्यक्रममा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। 

भदौ २९, २०८१ आइतबार १८:४९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।